राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चारदिने राजकीय भ्रमण पूरा गरी शनिबार जापान प्रस्थान गरेकी छन् । उनी जापान सरकारको निमन्त्रणामा चारदिने मैत्रीपूर्ण भ्रमणका लागि गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिले मंगलबार जापानका राजा नारुहितोको राज्यारोहण समारोहमा भाग लिनेछिन् । त्यही क्रममा उनले जापानका प्रधानमन्त्री सिन्जो अबे र भारतका राष्ट्रपति रामनाथ कोबिन्दसँग समेत भेट्ने कार्यक्रम छ ।

भ्रमणकै दौरानमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भण्डारीलाई स्वागत गर्नेछिन् । जापानस्थित गैरआवासीय नेपाली संघले पनि भण्डारीको स्वागतमा कार्यक्रम गर्दै छ । राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकर बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् । टोलीका अन्य सदस्य म्यानमारबाट राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ गए पनि गृहमन्त्री थापा शनिबार नेपालबाट जापान उडेका हुन् ।

चार दिनअघि भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा गएकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुका साथै म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु चीसँग भेट गरेकी थिइन् । राष्ट्रपति मिन्टले भण्डारीको सम्मानमा राजकीय भोज आयोजना गरेका थिए ।

भण्डारीले पिङओ लिङमा म्यानमारका नेपालीभाषीसँग भेट गरिन् । उनले बगानमा युनेस्को विश्व सम्पदा क्षेत्रसमेत अवलोकन गरिन् । भण्डारीले म्यानमारको पूर्वराजधानी यांगुनमा ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँको भ्रमण पनि गरिन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया