प्रहरीले मोरङको सुनवर्षी नगरपालिकामा भारतबाट अवैध रुपमा नेपाल ल्याइएको करिब ३ लाख मूल्य बराबरको कुखुरा नष्ट गरेको छ ।

आइतबार बिहान ५ बजे प्रहरीको टोलीले सुनवर्षी नगरपालिका वडा नं. ८ विश्वकर्मा टोलका नवि हुसेनले भारतबाट ल्याएको कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ । उनको कुखुरा फारममा भारतबाट अवैध रूपमा भित्र्याईएको ठूलो कुखुरा १ सय १० वटा, कुखुराको चल्ला १ हजार ५० वटा र केही दिन हुर्केको चल्ला १ हजार १ सय वटा बरामद गरी नष्ट गरेको हो ।

पशु क्वारेन्टाईन कार्यालय विराटनगरका प्रमुख चिकित्सक केशव कुमार सिंह सहित पुगेको प्रहरीको टोलीले सबै कुखुरा तथा चल्ला नष्ट गरेको छ । अन्दाजी २ लाख ९३ हजार रुपैयाँ बराबरको कुखुरा तथा चल्ला नष्ट गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउँजूले बताए । नविले चल्लाहरू बिहारको पटनाबाट अवैध रुपमा नेपाल ल्याएका हुन् ।

उनी लामो समय देखि अवैध भारतीय कुखुराहरू बिक्री वितरणमा संलग्न रहेको स्थानीय बासिन्दाको उजुरीको आधारमा प्रहरीले छापा मारेको हो ।

तपाईको प्रतिक्रिया