पालुङटार नगरपालिका– ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थी आवत्जावत गर्न सहज गराउने उद्देश्यले खोलामा काठेपुल निर्माण गरेको छ। स्थानीय चुक्ती खोला र खहरे खोलामा काठेपुल बनाएर विद्यार्थीलाई आवत्जावत गर्न सहज बनाएको प्रधानाध्यापक गणेश सेढाईँले जानकारी दिए। ‘चुक्ती खोलामा बाढी आएपछि कुवापानी, पिप्लेबगैँचा, अम्बोटे रिपथोक, डाँडास्वाँरा, भोर्ले, माथिल्लो सेरालगायतका धेरै टोलका विद्यार्थी र स्थानीय बासिन्दा पनि खोला तर्न नसकेर पारिको पारि नै हुने अबस्था छ’, प्रअ सेढाईँले भने, ‘अभिभावकहरू पनि बर्खामा खोला तर्न नसक्ने भएकाले विद्यार्थी स्कुल पठाउन्नौँ भन्न थाले। त्यतिखेर अभिभावकसँग यस वर्ष पुल बनाउने वाचा गरेका थियौँ।

त्यसैले नगरपालिकासँग अलिअलि बजेट मागेर पुल थापेका हौं।’ खहरे खोलाको बाढी तर्न नसकेर जोगीबेसी, लामाटारी, काभ्रेटारका बालबालिकाहरू विद्यालय आउन नपाउने अवस्था रहेको उनको भनाइ छ।

काठेपुल बनाएपछि सबै टोलका गरी २ सय ५० भन्दा धेरै बालबालिकालाई खुरुखुरु विद्यालय आउन सहज भएको उनले बताए। काठेपुल निर्माण गर्न विद्यालयले ८७ हजार छ सय रुपैयाँ खर्च गरेको छ भने पालुङटार नगरपालिकाले पनि ६७ हजार रुपैयाँ र केही थान तारजाली प्रदान गरेको विद्यालयले जनाएको छ। साथै स्थानीयवासीले श्रमदान पनि गरेका प्रधानाध्यापक सेढाईँले जानकारी दिए।

चुक्तीखोलामा काठेपुल बनेपछि सो भेगका स्थानीयवासीलाई दैनिक उपभोग्य सामान किन्नका लागि सेरा बजार आउन जान पनि सजिलो भएको छ। खहरेखोलामा काठेपुल बनेपछि वडा नं. ९ का बासिन्दालाई नगरपालिका कार्यालय जान सहज भएको छ।

उक्त खोलामा पक्की पुल नहुँदा बर्खाका बेला यातायातका साधन वारपार गर्न सक्दैनथे भने स्थानीयवासी पनि आवत्जावत गर्न नसक्ने अबस्था थियो। बहुसंख्यक स्थानीयवासी आवत्जावत बनाउन सो ठाउँमा पक्की पुल बनाउन स्थानीयले माग गर्दै आए पनि अहिलेसम्म प्रक्रिया सुरु भएको छैन।

तपाईको प्रतिक्रिया