विराटनगर / पैसाको प्रलोभन देखाउँदै पीडक पक्षले विभिन्न खाले दबाब र धम्की दिएपछि बलात्कारबाट पीडित बनेकी युवती आइतबार जिल्ला अदालत मोरङमा बेहोस भएर ढलेकी छन् ।
सात महिना अघिको घटनामा पीडित बनेकी युवती बकपत्रका दिन इजलासमै बेहोस भएकी हुन् । दबाब र धम्की पीडक पक्षले दिएपछि तनाव थेग्न नसकेर युवती अदालतमै बेहोस भएको पीडित पक्षको भनाइ छ । युवतीका आफन्तले बलात्कार जस्तो जघन्य अपराध पैसामा मिलाउने प्रयास गर्ने र विभिन्न खाले धम्की दिनेलाई पनि कारबाही हुनु पर्ने माग गरेका छन् ।

घटनाअनुसार २०७५ साल चैतमा पाँच लाख रुपैयाँ ऋण माग गर्न विराटनगर घर भएकी युवती मोरङको कर्सियास्थित नेपाल–बंगलादेश बैंकका शाखा कार्यालयमा पुगेकी थिइन् । त्यस क्रममा बैंकका शाखा प्रबन्धक झापाको बिर्तामोड नगरपालिका–५ पञ्चमुखी टोल घर भएका ४५ वर्षीय अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरी अनुसन्धानबाट पटक–पटक बलात्कार गरेको खुलेको छ । चैत २२ गते मोरङको रंगेली नगरपालिका–७ मा रहेको मेलिना होटल र चैत २६ गते सुनसरीको इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा बलात्कार गरेको खुलेको हो । ऋणको प्रक्रिया मिलाउने बहानामा बोलाएर शाखा प्रबन्धकले बलात्कार गरेको भन्दै पीडित गए पनि त्यतिबेला जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ठाडो निर्देशनमा ढिलो गरेर भए पनि जाहेरी दर्ता गरेको प्रहरीले घटना भएको दुई महिनापछि गत जेठ २५ गते घटनामा संलग्न बास्तोलालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले मिसिल बुझाएपछि बास्तोला विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङमा साउन १० गते जवरजस्ती करणीको अभियोग लगाएर मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशबाट साउन १३ गते नै बास्तोला पुर्पक्षका लागि कारागार चलान भए । जिल्लाको आदेश बदरको माग गर्दै पीडक पक्ष उच्च अदालत विराटनगर पुगे पनि उच्चले जिल्लाकै आदेशलाई भदौ ५ गते सदर गरिदिएपछि जिल्ला अदालतमा आइतबार यही मुद्दाको बकपत्र थियो ।

घटनाका बारेमा सोध्न र बुझ्नका लागि पीडित युवती, पीडक बास्तोला तथा वादी र प्रतिवादी दुवै पक्षका साक्षीलाई अदालतले झिकाएको थियो । जिल्ला न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजलासमा बकपत्र सुरु हुँदै गर्दा युवती बेहोस भएर ढलेकी हुन् । जिल्ला न्यायाधीवक्ता मुकुन्द रेग्मीले बकपत्रका क्रममा गरेको पहिलो प्रश्नको जवाफ दिने क्रममै युवती बेहोस भएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए । उनलाई तत्काल उपचारका लागि कोसी अस्पताल लगिएको छ ।

घटनापछि वादी पक्षको बकपत्र र रोकिएको र पुनः बकपत्रका लागि सोमबार बोलाइएको जानकारी ओझाले दिए । पीडितका तर्फबाट चार जना साक्षी अदालतमा उपस्थित भएका थिए । प्रतिवादीका साक्षीको भने बकपत्र सकिएको छ । स्रेस्तेदार ओझोले दिएको जानकारीअनुसार बकपत्रका लागि उपस्थित भएकी पीडित युवतीको बोली सुरुमै लकपकिएको थियो । ‘केही कुरा सोध्यो भने पनि राम्ररी जवाफ दिन सक्ने अवस्थामा थिइनन् । सुरुदेखि नै डराए जस्तो देखिएकी युवतीले असामान्य व्यवहार देखाइरहेकी थिइन्,’ उनले भने, ‘अदालतका तर्फबाट सोधिएको पहिलो प्रश्नमै ट्रयाक भन्दा बाहिर गएर उत्तर दिइरहेकी थिइन् । त्यही क्रममा बोहेस भएर उनी ढलिन् ।’

कोसी अस्पतालका चिकित्सक सुनिलबाबु खनालले धेरै तनाव भएका कारण युवती बेहोस भएको जानकारी दिए । उपचार जारी रहेका कारण अवस्था सामान्य बन्दै गइरहेको बताउँदै उनले लामो समयदेखिको भारी पीडा र तनावका कारण मान्छेमा यस्तो अवस्था आउन सक्ने जानकारी दिए । घटनामा संलग्न व्यक्ति थुनामा भए पनि उनको परिवारका सदस्य तथा साथीभाईले पैसामा मिलेर बकपत्रका क्रममा बलात्कारको घटना अस्वीकार गर्न पीडितलाई दबाब दिंदै आएका कारण यस्तो अवस्था आएको पीडित पक्षको भनाइ छ । पीडितका एक आफन्तले पीडकका बुवा खगेन्द्र बास्तोला, साथी संजोग गिरी र राजु श्रेष्ठले पैसामा घटना मिलाउन बारम्बार दबाब र विभिन्न खाले धम्की दिएको बताए । विराटनगरका गिरी प्रतिवादीका साक्षी पनि हुन् । पैसामा पीडित युवतीलाई मिलाउने जिम्मा धरान घर भएका श्रेष्ठले लिएको पीडित पक्षको भनाइ छ ।

चार लाख ५० हजार रुपैयाँ नगद र पाँच लाख ५० हजार रुपैयाँको चेकनै पीडित युवतीलाई थमाएर घटना साम्य पार्ने प्रयास गरिएको ती आफन्तले बताए । ‘चेक र नगदमा कुरा मिलाएर बकपत्रमा पीडितले घटना अस्वीकार गरिदिए थुनामा रहेका अमित छुट्ने र थुनामुक्त हुँदै बाहिर निस्किएपछि पनि थप नौ लाख ९० हजार रुपैयाँ नगद नै दिनेसम्मको प्रलोभन आएको थियो,’ उनले भने, ‘पीडित (वादी) पक्षका साक्षीलाई पनि विभिन्न धम्कीहरु आएको थियो ।’ उनले नगद र चेक बोकेर धरानका राजु श्रेष्ठ पटक–पटक पीडित युवती र उनका आफन्तसम्म पुगेको पनि बताए ।

वादी पक्षका एक साक्षीले आफूलाई एक लाख रुपैयाँ दिने र बकपत्रमा घटना भएको हैन भनेर बताउन आफूलाई प्रतिवादी पक्षबाट धेरै दबाब आएको बताए । ‘मलाई पनि धेरै खाले दबाब आए,’ उनले भने, ‘नमानेपछि गुण्डा लगाएर हातखुट्टा भाँच्नेसम्मको धम्की दिइयो ।’ उनले सबै साक्षीहरु र पीडित युवतीलाई बारम्बार पैसामा मिल्नका लागि दबाब एवं विभिन्न धम्की आएको तथा त्यही तनावका कारण बकपत्रका दिन युवती अदालतमै बेहोस भएको बताए ।

पीडितका अर्का एक आफन्तले घटनामा संलग्न युवा र बलात्कार पीडित युवतीबीच बिहेको कुरा समेत चलाइएको बताए । तर मुद्दाका रुपमा घटना अघि बढिसकेको अवस्थामा कानुनले पनि नदिने भएका कारण पीडक पक्ष पछि हटेको उनको भनाइ छ । ‘पीडक पक्ष युवतीसँग बिहे गर्ने प्रस्ताव लिए आएको थियो,’ उनले भने, ‘हामीले अस्वीकार गर्दै कानुन अनुसार चल्छौं भन्ने अडान लियौं ।’ उनले अभियुक्तको भने पहिलो श्रीमतीसँग यस अघि नै सम्बन्ध विच्छेद भइसकेको बताए ।

पीडितका श्रीमान वैदेशिक रोजगारीमा दुवईमा छन् । श्रीमतीमाथि बलात्कार भएको सुनेपछि केही समयका लागि नेपाल फर्किएर उनैले श्रीमतीलाई कानुनी लँडाईमा जान बाटो देखाएको एक आफन्तले बताए । ‘जसरी भए पनि न्याय पाउनु प¥यो भन्ने श्रीमानमा छ,’ अर्का साक्षीले भने, ‘घटनाको सबै जानकारी गराउने काम पनि भइरहेको छ ।’ उनले पनि पीडित युवतीलाई पीडक पक्षले पैसाको प्रलोभन देखाउँदै धेरै तनाव र दबाब दिइरहेको बताए । ‘मुद्दाकै कारण असुरक्षित महसुस गर्दै युवतीले धेरै तनाव लिइरहेकी थिइन्,’ ती साक्षीले भने, ‘बकपत्रको दिन अदालतमै बेहोस हुनु यसकै परिणाम हो ।’

अमितका बुवा खगेन्द्रले भने पीडिक पक्षलाई कुनै दबाब नदिइएको बताए । सोझो छोरोलाई गलत आक्षेप लगाएर फसाइएको भन्दै उनले यस मुद्दामा अदालतको फैसला स्वीकार गर्ने बताए । ‘युवती सामु सकिन्छ भने मिलौं भनेर चैं प्रस्ताव लगिएको हो, ‘खगेन्द्रले भने, ‘हामीले भेटेका बेला मिल्नका लागि आग्रह गरे पनि उनी नमानेका कारण त्यस बाहेक अरु कुनै दबाब दिइनौं ।’

तपाईको प्रतिक्रिया