प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा  आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा ७६ (२) मा ‘उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान  छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि एमाले र कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन्। योसँगै ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा बनेका हुन्।

ओली यसअघि पहिलोपटक २०७२ साल असोज २४ गते प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०७८ साल वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री बनेका थिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा,झलनाथ खनाल,बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खिलराज  रेग्मी, सांसदहरू, संवैधानिक आयोगका अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरू सुरक्षा निकायका प्रमुखहरूलगायत उपस्थित थिए।

प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेसँगै मन्त्रिमण्डल विस्तार गरेका छन्।

तपाईको प्रतिक्रिया