पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, हत्या आर्थिक प्रलोभनमा परेर र जग्गा विवादको कारण गरिएको खुलेको छ।

८१ वर्षीय पूर्व मन्त्री यादवको साउन ७ गते उनकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। अनुसन्धानबाट उनकै घरमा काम गर्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहका अनुसार, पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आएका छिमेकी वीरेन्द्र रायको उक्साहटमा यो हत्या भएको देखिएको छ। वीरेन्द्रले राम उजैनलाई दुई लाख रुपैयाँ र व्यवसायको लागि एउटा फर्म दिने प्रलोभन देखाएर हत्या गर्न लगाएको खुलेको छ।

घटना लगत्तै प्रहरीले राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। एक साताको अनुसन्धानपछि प्रहरीले दुवै आरोपीलाई सोमबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। हत्यामा प्रयोग गरिएको उखु काट्ने फर्सा (फलामको धारिलो हतियार) समेत बरामद गरिएको छ।

सर्लाही जिल्ला अदालतले दुवै आरोपीलाई कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद दिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया