उत्तरी इंग्ल्यान्डमा सोमबार बालबालिकाको नृत्यकक्षामा भएको छुरी आक्रमणमा तीन बालबालिकाको मृत्यु भएको छ । प्रहरीले आक्रमणमा सात वर्षीया एलसी डोट स्ट्यानकोम्बी, नौ वर्षीया एलिस डासिल्भा एगुइयर र ६ वर्षीया बेब किङ मारिएको जनाएको छ ।
आक्रमणमा थप आठजना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । मर्सिसाइड प्रहरीका चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये पाँचजना बालबालिका र दुईजना वयस्कको अवस्था गम्भीर रहेको जानकारी दिए । आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चाहरूलाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ ।
‘आक्रमणमा घाइते भएका वयस्कहरूले बहादुरीपूर्वक बच्चाहरूलाई जोगाउने प्रयास गरेका थिए भन्ने हाम्रो विश्वास छ,’ केनेडीले सोमबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिए । आपत्कालीन सेवालाई लगभग ११ः५० मा ‘ठूलो घटना’ घटेको खबर आएको थियो । घटनास्थलबाट १७ वर्षीय किशोर पक्राउ गरिएको छ । अनुसन्धान प्रारम्भिक चरणममै रहेकाले घटनाको कारण अस्पष्ट खुलिनसकेको केनेडीले बताए । साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ‘एल्डर हे चिल्ड्रेन’ अस्पतालले यस घटनामा घाइते भएकाहरूको उपचारका लागि अन्य आपत्कालीन सेवासँग सहकार्य गरिरहेको आफ्नो वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनेको छ ।
बेलायतका राजा चाल्र्स र उनकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताएका छन् । बेलायतका प्रधानमन्त्री किअर स्टारमरले पनि घटनाप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण देश स्तब्ध भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया