मोरङका अलगअलग स्थानमा धारिलो हतियार प्रहारबाट श्रीमान- श्रीमतीसहित तीनजना घाइते भएका छन् ।  सुनवर्षी र बेलबारीमा घटना भएको हो ।

घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् । सुनवर्षी नगरपालिका–६ पटियापाडामा ४२ वर्षीय रमेश साह र उनी श्रीमती प्रमिला साहमाथि बुधबार साँझ दाउ प्रहार भएको थियो ।

नातामा भतिज पर्ने २५ वर्षीय राजु साहले साँझ ७ बजेतिर दाउले हानेर रमेश र प्रमिलालाई घाइते बनाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार पूजा कोठाको माटो निकालेको विषयमा विवाद हुँदा राजुले रमेश र प्रमिलालाई दाउले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दाउ प्रहारबाट रमेशको दाउको र दुवै हातमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर छ । पाखुरामा चोट लागेकी प्रमिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि सुरुमा रंगेली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको छ ।

दाउ प्रहार गर्ने राजु फरार रहेकाले खोजी तीव्र पारिएको जानकारी डीएसपी बस्नेतले दिए । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली र मातहतका युनिटबाट प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, बेलबारी नगरपालिका–३ खेरिया टोलस्थित सम्झना चोकका २८ वर्षीय वीरेन भनिने वीरेन्द्र राईलाई आफ्नै दाजुले बाम्फोक प्रहार गरेर घाइते बनाएका छन् । वीरन्द्रलाई आफ्नै दाजु ४१ वर्षीय ज्ञानबहादुर राईले राति ८:२० बजेतिर आक्रमण गरेको डीएसपी बस्नेतले बताए । उनका अनुसार ज्ञानबहादुरको मोबाइल फुटेको थियो ।

उनले मोबाइल फुटाइदिएको आरोप भाइमाथि लगाएका थिए । त्यही विषयलाई लिएर विषयमा विवाद हुँदा ज्ञानबहादुरले वीरेन्द्रलाई बाम्फोकले टाउकोमा हानेको बस्नेतको भनाइ छ । गम्भीर अवस्थाका वीरेनलाई उपचारका लागि बेलबारीको नोबेल अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको छ ।

भाइमाथि बाम्फोक प्रहार गर्ने ज्ञानबहादुर पक्राउ परेका छन् । घटनापछि फरार बनेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले बिहीबार बिहान ७ बजेतिर घरनजिकैबाट पक्राउ गरेको हो । दाहाल नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया