दुर्घटनामा परेको सौर्य एयरका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन् ।  उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो । टोलीसँगै पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा. मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको बताइन् ।

काठमाडौंबाट पोखरा उड्दै गरेको सौर्यको जहाज बुधबार काठमाडौं विमानस्थलमै दुर्घटनामा परेको थियो । डा. थापाका अनुसार पाइलटसँग दुर्घटनाका बारेमा धेरै कुरा भएको छैन । दुर्घटनालगत्तै पाइलट शाक्यले जहाज उडेर केही माथि जानासाथ कन्ट्रोलबाट बाहिर गएको बताएका थिए

चिकित्सकहरुसँगको कुराकानीमा उनले यस्तो बताएको थापाले जानकारी दिइन् ।

“केही माथि पुगेपछि कन्ट्रोल गर्नै सकिएन भनेर भन्नुभएको थियो,” थापाले भनिन्, “हामीले दुर्घटनाका सम्बन्धमा धेरै खोतलेनौँ । जति धेरै घटनाको सम्झना हुन्छ स्ट्रेस बढ्दै जान्छ भनेर पनि हामीले सोध्नुहुँदैन । आयोगले छानबिन गरिरहेकाले हामीले कुरा गरिरहन परेन ।”

उनले शाक्यले घरमै थप उपचार गर्नुपर्ने भएकाले तत्कालै काममा जान सक्ने अवस्था भने पाइलटको नरहेको बताइन् । कांग्रेस उपसभापति खड्काले विमान चालक शाक्यले पुनर्जन्म पाएँ भनेर प्रशन्नता व्यक्त गरेको जानकारी गराए ।

“नाक र ढाडमा केही समस्या रहेछ । चिकित्सकको सल्लाहअनुसार थप उपचार घरमै पनि गर्ने तयारी गरिएको रहेछ,” उनले भने ।

“पुनर्जन्म हुन्छ भन्ने मलाई विश्वास लाग्यो । जाँचबुझ समितिसँग सबै कुरा भनिसकेपछि दुर्घटनाको धेरै कारणहरु उहाँले बताउनुहुनेछ,” खड्काले भने ।

अस्पताल सञ्चालक सुनील शर्माले पनि पाइलटले पुनर्जन्म पाएको बताए ।

“जहाज दुर्घटनाबाट बाँच्न सफल हुनुभयो । पूर्वजन्ममा होस् या पुर्खाले धेरै धर्म गरेको हुँदा उहाँ बाँच्न सफल हुनुभएको हो भन्ने लाग्छ,” शर्माले भने ।

तपाईको प्रतिक्रिया