कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाह बिहीबार बिहान घर नजिकैको खेतमा घाँस काटिरहेकी बेला उखुबारीबाट आएको बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। बाघले करिब ५० मिटर घिसारेको छ। हिराको कपाल लुछिएको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। हीरा र मीना देउरानी जेठानी सँगै बस्छन्। कलिलो उमेरै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। दुई वर्षे दुधे बालक आमा खोजेर रोइरहेका छन्।परिवार उनलाई आमाको दुःखान्त बताउने अवस्थामा छैन।
जेठानी मीनाले अबोध बालकलाई कहिले केही, कहिले केही भनेर भुलाउने प्रयास गरिरहेकी छन्। मृतक हीराका माइती बर्दियाबाट बिहीबार बेलुका पुगेका छन्। हीराले तीन वर्षअघि दोधारा चाँदनीका गोविन्दसँग बिहे गरेकी थिइन्। गोविन्द अहिले मजदुरी गर्न भारतको हिमाचलमा छन्। पत्नीको दुखान्त सुनेपछि उनी घर फर्किँदै छन्। गोविन्द वैशाखमा बुवाको बरखी गरेर मजदुरी गर्न भारत गएका थिए।

तपाईको प्रतिक्रिया