जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिप दुर्घटनामा गम्भीर घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउने क्रममाभेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो ३ बजे खंलगाबाट भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो।दुर्घटनामा जिप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा भेरी नगरपालिका–६ बस्ने २८  वर्षीय सपना वि.क, ३५ वर्षीय भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सिता पुन, २१ वर्षीया धनसरा खड्का, २८ वर्षीया भूमिकला राना, उनका ४ महिनाका छोरा प्रज्वलन घर्ती, ३६ वर्षीया कल्पना खत्री,  ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हिरा सार्की घाइते भएकी छन्।

जिप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया