मोरङमा जग्गा विवादका कारण आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सुन्दरहरैँचा नगरपालिका १० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।

उनले आइतबार (आज) खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएपनि उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रहरीका अुसार अंश विवादका कारण पवित्राको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार श्रीमान–श्रीमतीले नै यसअघि अदालतमा एकअर्काविरुद्ध मुद्दासमेत हालेका थिए । पछि मिलापत्र भएको थियो ।

प्रहरीका अनुसार श्रीमानले १६ धुर जग्गा किनेर श्रीमतीको नाममा पास गरिदिएका थिए । दुई जनाबीच झगडा भएपछि पवित्रा वैशाखदेखि माइततिर गएर बस्न थालेकी थिइन् । त्यसपछि लक्ष्मणले अदालतमा जग्गा रोक्का सम्बन्धी मुद्दा हालेका थिए ।

पवित्राले पनि सम्बन्धविच्छेद, घरेलु हिंसा र मानोचामल सम्बन्धी मुद्दा दर्ता गरेको पाइएको छ । प्रहरीका अनुसार अदालतले दुवै जनालाई छलफलमा बोलाएर मुद्दामा मिलापत्र गराएको खुलेको छ ।

जग्गा दुवै जनाको संयुक्त नाममा हुने र आगामी दिनमा मिलेर सँगै बस्ने भनी अदालतले साउन १० गते मिलापत्र गराएको प्रहरीको भनाइ छ । मिलापत्रपछि दुवै जनाले मुद्दा फिर्ता लिएका थिए । त्यसपछि पनि पवित्रा माइतीतिरै बस्न थालेपछि दुई जनाबीच सम्बन्ध झन् बिग्रिएको प्रहरीको भनाइ छ ।

माइतीमा बसिरहेकी पवित्रालाई अब मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर हत्या गरेको पाइएको डीएसपी बस्नेतको भनाइ छ । पत्नीको हत्यामा संलग्न लक्ष्मण खुकुरीसहित पक्राउ परेका छन् ।

लक्ष्मणविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने डीएसपी बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया