सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक अहिले अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) लेखक तथा साहित्यकार प्राध्यापक डा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो आफ्नै पाइला’ र ‘एक्काको जोडा एक्का’ नामक पुस्तकहरू लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाइसँगै लिएर जाने वीपीको सिद्धान्त कार्यान्वयन गर्न नसके नेपाल र नेपाली नै नरहने जिकिर समेत गरे ।

देशमा उठ्ने राजश्वभन्दा बढी चालू खर्च हुने गरेको भन्दै कोइरालाले यसमा तत्काल सुधार आवश्यक रहेको बताए । उनले भने, ‘देश अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेको छ । देशमा ११ अर्ब राजस्व उठ्छ । १४ खर्ब खर्च हुन्छ । त्यो पनि विकास खर्चमा नभई चालु खर्च भइरहेको छ । यसमा सुधार गर्न आवश्यक छ । त्यस्तै संविधानमा समेत केही सुधारहर गर्नु आवश्यक छ ।’

उनले यस विषयमा नेपाली कांग्रेसले  छलफल गरिरहेको बताए । सरकारले जसरी पनि संविधानमा सुधार गर्न आवश्यक कुराहरु गरिहाल्नु पर्छ,’ उनले थपे, ‘उतिबेला राजनीतिक अवस्था दक्षिण एसियामा हलचल भइरहेका बेला बीपी नेपाल फर्किनु भयो । केही सुधारका काम गर्नुभयो । कांग्रेसको बैठकमा समेत मैले यो कुरा उठाएको छु ।राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लिएर जानु पर्दछ नत्र देश र हामी रहँदैनौं भन्ने वीपीको विचार थियो । अहिलेको राजनीतिक घटनाक्रमहरु हेर्दा पहिलेको जस्तै स्थिति सिर्जना भइरहेको त छैन भन्ने कुरा मनमा लागि रहेको छ ।’

बंलादेशमा घटेको घटनालाई आम नेपालीहरु गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले वीपी नेपाल फर्किनु भएको अवस्था भन्दा खराब स्थितिमा रहेको बताए । ‘वीपी कोइराला फर्किनु भएको बेलाको भन्दा पनि स्थिति खराब छ कि भन्ने मलाई लागिरहेको छ । यस्तो बेलामा सरकार परिवर्तन गरेका छौं । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि संसदका दुई ठुला दलहरु एक ठाउँमा उभिनु पर्छ भन्दै आएका थियौं । अहिले एमालेको नेतृत्वमा सरकारमा गएका छौं,’ उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया