सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु गरिएको छ। बलेफी गाउँपालिकाले साहसिक खेल अन्तर्गत पर्ने क्यानोनिङ र रक क्लाइम्बिङका लागि पहिलो चरणमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।

झरनामा आधारभूत पूर्वाधार तयार गर्न सो बजेटबाट काम थालिएको वडा नम्बर ३ का वडाध्यक्ष रितेश तामाङले बताए। पर्यटकीय स्थलका रूपमा सो क्षेत्रलाई विकास गर्ने उद्देश्यले क्यानोनिङ र रक क्लाइम्बिङमा लगानी गरेको गाउँपालिकाले जनाएको छ।

ठूलो छाँगामा क्यानोनिङका लागि तीन स्तरको झरना रहेको स्थानीय युवा प्रितम गोले तामाङले बताए। तामाङका अनुसार माथिल्लो झरना करिब ९ मिटरकोमा आधारभूत अर्थात सिकारुलाई सिक्न, बीचको करिब १२ मिटरको झरनामा सिकेर केही जान्नेलाई र तल्लो अर्थात १७ मिटरको तेस्रो झरनामा ‘एडभान्स’का लागि उपयुक्त रहेको छ।

सो क्षेत्रलाई साहसिक पर्यटनको क्षेत्रका रूपमा विकास गर्न १० युवाहरूलाई क्यानोनिङ र रक क्लाइम्बिङ सम्बन्धी दुई दिने आधारभूत तालिम समेत दिएको छ।

गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले बलेफी भित्र यस्तै थुप्रै पर्यटकीय सम्भावनाहरु भएको स्थानहरु रहेकोले ती स्थानहरुलाई प्रवर्द्धन गर्न लागि परेको बताए। उनले बलेफीमा सहासिक खेल र्‍याफ्टिङसँगै क्यानोनिङ र रक क्लाइम्बिङ पनि थपिएकोमा खुशी व्यक्त गरे। अब यी खेलहरुसँगै सेल्ताप मन्दिर हुँदै ॐ पार्क जोड्ने पर्यटकीय मार्गका लागि पूर्वाधार निर्माणमा स्थानीय सरकार निरन्तर लाग्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया