मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ मा आक्रमण गर्न आएको बाघलाई भैसीले मारिदिएको छ ।मनहरी–६ प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा भैंसीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट एउटा भैंसी घाइते भएको छ । सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बाघ बुढो भएकाले भैंसीसँग जुध्ने क्रममा मृत्यु भएको हुनसक्ने आशंका गरिएको भण्डारीले बताएका छन् । घटनाको विषयमा जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र पर्सा राष्ट्रिय निकुञ्जको टोली घटनास्थल पुगेको थियो ।निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गर्दा बाघ बुढो भएकाले भैंसीले हान्दा मृत्यु भएको देखिएको बताएको छ ।

आज बिहान चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको सेक्टर सौराह ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले मृत बाघ जिम्मा लिएर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो समय मकवानपुरको मनहरी गाउँपालिकामा जंगली जनावर बाघ, गैंडा, हात्ती लगायतको आक्रमण बढ्दो क्रममा रहेको छ । यस क्षेत्रका सर्वसाधारण जंगली जनावरको त्रासमा बस्न बाध्य रहेका छन् ।

तपाईको प्रतिक्रिया