विराटनगर । मोरङको सुनवर्षीबाट सोमबार साँझ ठूलो परिमाणमा बेवारिसे अवस्थाको लागुऔषध बरामद भएको छ ।
सुनवर्षी नगरपालिका–९ स्थित हरिशचन्द्रगढी खोलाको पूर्वतर्फ बेवारिसे अवस्थामा लागुऔषध भेटिएको हो । पहेँलो र रातो रंगको कपडाको झोलाभित्र राखिएको अवस्थामा लागुऔषध ट्रमाडोल साँझ ५ बजेतिर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार ५ हजार क्याप्सुल (५ सय पत्ता) ट्रमाडोल फेला परेको छ । प्रत्येक पत्तामा १० वटा क्याप्सुल छन् । स्थानीयले बाटोमा बेवारिसे अवस्थामा फालेको लागुऔषध देखेर प्रहरी चौकी सिक्टीलाई खबर गरेका थिए ।
यति ठूलो परिमाणमा लागुऔषध कसले ल्याएर राखेको हो भन्ने यकिन छैन । प्रहरीले लागुऔषध राख्ने र कारोबार गर्ने व्यक्तिको खोजतलास गरिरहेको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।


















