विराटनगर । भारत पुगेर आएका ५ जनालाई प्रहरीले सुनसरीबाट मंगलबार विभिन्न समयमा पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले कोशी गाउँपालिका–१ भन्सर कार्यालयअगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ का २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–६ का २० वर्षीय अनोजकुमार उराउ, भोक्राहा–नरसिंह–३ का २५ वर्षीय रूपेशकुमार यादव र इटहरी उपमहानगरपालिका–१७ का २० वर्षीय मोहमद समीर खान तथा २० वर्षीय राजेश पुरी रहेका छन् ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार भारतबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाबाट मलद्वारलगायत शरीरका विभिन्न भागमा लुकाएर ल्याएको ब्राउन सुगर बरामद भएको खतिवडाले बताए ।
पक्राउ परेकाहरु सबै पैदल यात्रामा थिए भने साथबाट जम्मा ९ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी खतिवडाले दिए ।


















