टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको सुन्दरहरैँचा नगरपालिका–१ को हरैँचा बजार तनावग्रस्त बनेको छ ।
विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान १०ः५० बजेतिर ठक्कर दिएको थियो । विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा चालक सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
दुर्घटनालगत्तै भेला भएको स्थानीयले अहिले विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध बनाएर प्रदर्शन गरिरहेका छन् । भिड आक्रामक र उत्तेजित हुँदै गइरहेको प्रहरीले जनाएको छ । वरपरका स्थानीय भेला भएर भिड बढ्ने क्रम जारी छ ।
भिडले शवलाई सडकबाट उठाउन दिइरहेको छैन । टिपर पनि घटनास्थलमै छ । भाला र लाट्ठीसहित प्रदर्शनमा उत्रिएका स्थानीयले टिपरमा आगजनीको प्रयास गरिरहेका छन् । टिपरलाई प्रहरीले सुरक्षा दिएर राखेको छ । घटनास्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र तथा ट्राफिक प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरीले उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई ‘डाइभर्ट’ गरिरहेका छन् । सडकमै शव राखेर प्रदर्शनमा उत्रिएको भिडले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको आरोप लगाएको छ ।
स्थानीयले सडकमा टिपरको दादागिरी बढेको आरोप लगाएका छन् । टिपरको दादागिरी बन्द गर्नुपर्ने, उक्त सडकमा टिपर सञ्चालनमा रोक लगाउनुपर्ने, मृतकलाई क्षतिपूर्ति हुनुपर्ने, चालकमाथि कारबाही गर्नुपर्नेलगायतका माग राखेर अहिले प्रदर्शन भइरहेको डीएसपी जोशीले बताए । उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन डीएसपी मदन केसी नेतृत्वको टोली घटनास्थल पुगिसकेको छ । केसी नेतृत्वको टोलीले ओक्रोसित भिडलाई सम्झाइबुझाइ गर्ने काम गरिरहेको छ । यद्यपि, भिड थप उत्तेजित हुँदै गइरहेको प्रहरीले जनाएको छ ।
गिट्टी लोड गरिएको टिपरको तीव्र गतिकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार कान्छाराम कन्स्ट्रक्सनको टिपर विराटनगरका अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीमा प्रयोग गर्दै आएको पत्ता लागेको छ ।टिपर चालक पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । डीएसपी जोशीले स्थिति नियन्त्रणको प्रयास भइरहेको र थप मद्धतका लागि अरु पनि प्रहरी परिचालन गरिएको जानकारी दिए ।


















