विषादी सेवन गरेका पुरुषको मृत्युपछि
विराटनगरको नोबेलमा तोडफोड, इन्स्पेक्टर घाइते
विराटनगर । झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका पुरुषको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (शुक्रबार) बिहानका राति हुलदंगा एवं तोडफोड भएको छ ।
विष सेवन गरेर अवस्था गम्भीर बनेका मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि अस्पतालको अवस्था असामान्य बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले विष सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।गम्भीर अवस्थाका महतोलाई उपचारका लागि बिहीबार साँझ ५ः३० बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोशीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पताल रेफर गरियो ।
नोबेलमा उपचारका क्रममा राति ११ बजेतिर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारमा संलग्न रहेकी पत्नी अनितादेवी महतोले पतिले विष सेवन गर्नुको कारण आफूलाई थाहा नभएको बताएकी छन् । उपचारमा संलग्न चिकित्सकले पनि विषादी सेवन गरेका कारण महतोको मृत्यु भएको जानकारी दिएका छन् ।
महतोको मृत्यु भएपछि नोबेल अस्पतालमा ४०–५० जनाको संख्यामा भेला भएका आफन्त एवं छिमेकी शुक्रबार बिहानका राति १ः३० बजेतिर तोडफोडमा उत्रिएका थिए । अस्पतालको आकस्मिक कक्षअगाडि भेला भएका उनीहरुले चिकित्सकको लापरबाहीले महतोको मृत्यु भएको भन्दै होहल्ला र हुलदंगा सुरु गरेका हुन् ।
अस्पतालविरुद्ध नाराबाजीमा उत्रिएको समूहले एक्कासि तोडफोड र ढुंगामुढा गर्न थालेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार उत्तेजित भिडले ढुंगामुढा गर्दा ओपीडी प्रवेश गर्ने ढोकाको माथिल्लो भागको सिसा फुटेर क्षति पुगेको छ ।
उत्तेजित भिडले ढुंगामुडा गर्दा वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर राजेश दत्त घाइते भएका छन् । दाहिने खुट्टाको घुँडामा चोट लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दत्तको नोबेलमै उपचार गराइएको छ ।स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मदन केसी र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरिएको थियो । आक्रोसित बनेको भिड पुनः तोडफोडमा उत्रिएपछि अस्पतालको अवस्था तनावग्रस्त बन्न पुग्यो ।
भिडले ढुंगामुढा गर्दा अस्पतालको बनाउँदै गरेको नयाँ भवनको ५–६ वटा झ्यालका सिसा फुटेको एसपी चिमरियाले बताए । प्रहरीले सामान्य बल प्रयोग गरेर भिडलाई तितरबितर पारेपछि अवस्था साम्य बनेको थियो ।
प्रहरीले ढुंगामुढा र तोडफोडमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी तीव्र पारिएको एसपी चिमरियाले बताए । उनले घटनाको अनुसन्धान भइरहेको जनाए ।

तपाईको प्रतिक्रिया