म्याग्दी । रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो ।

आव २०७९–८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । रु ७१ लाख ६६ हजार ४१५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो ।

चालु आर्थिक वर्षमा विनियोजन भएको रु २७ लाख बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । भवन निर्माण गर्न रु ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो । भाडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताए ।

तपाईको प्रतिक्रिया