संखुवासभामा चट्याङले लागेर १ जना महिलाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।
चैनपुर नगरपालिका–१ मानेडाँडामा परेको चट्याङले लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो । संखुवासभाका निमित्त प्रहरी प्रमुख एवं इन्स्पेक्टर अभिषेक श्रेष्ठका अनुसार हावाहुरीसँगै बुधबार अपरान्ह ४ बजेतिर चट्याङ परेको थियो । घरमै बसिरहेका बेला चट्याङले लागेर तामाङ गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । चट्याङले लागेर १५ वर्षीय प्रतीक तामाङ, १९ वर्षीय रिजन तामाङ र ४२ वर्षीया कल्पना तामाङ गम्भीर घाइते भएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए ।
चैनपुरमा सम्भव नभएपछि घाइतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । संखुवासभामा चट्याङले लागेर १ वर्षको अवधिमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


















