हिलेबाट सुनसरीको इटहरीतर्फ आउँदै गरेको यात्रुवाहक ईभी गाडीमा लागुऔषध गाँजा भेटिएको छ । गाडीमा गाँजा भेटिएपछि चालकसहित २ जना पक्राउ परेका छन् ।
प्रदेश १–०२–००१ ज ४५७५ नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको सई रमेश प्रधान नेतृत्वको टोलीले आइतबार बिहान ७ः५० बजेतिर नियन्त्रणमा लिएको थियो । साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सीटमुनि १२ किलोग्राम गाँजा फेला परेको धनकुटा प्रहरीका निमित्त प्रवक्ता, इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय प्रवेश राई बसेको सीटमुनि उनैले बोकेको कालो झोलामा गाँजा भेटिएको हो । गाँजा भेटिएपछि राई र इर्भ गाडी तथा त्यसका चालक धनकुटा नगरपालिका–१ हिलेका ३९ वर्षीय दिनेश तामाङलाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी छ । थप अनुसन्धान भइरहेको जानकारी श्रेष्ठले दिएका छन् ।

तपाईको प्रतिक्रिया