काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको नागरिकता ऐन संशोधन विधेयक पारित भएको छ । समितिको सभाकक्ष सिंहदरवारमा बसेको मंगलबारको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
यो सँगै बाबुुको अनिवार्य नाम राख्ने व्यवस्थाका कारण नेपाली नागरिकता पाउनबाट बञ्चित भएकाहरूले आमाको नामबाट नागरिकता पाउने भएका छन ।
सरकारले ल्याएको नागरिकता विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता दिनेगरी व्यवस्था राखेर राज्यव्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित गरिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
‘पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य चाहिन्थ्यो’, उनले मध्यान्हसँग भने ‘पारित विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था थपिएको छ । आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ ।’
आमाको मात्रै नाम राखेर नागरिकता प्राप्त गर्ने कानुन नहुँदा ठूलो संख्यामा नेपाली नागरिकले नागरिकता पाउन सकेका थिएनन् ।
यद्यपि सर्वोच्च अदालतले समेत आमाको पहिचानका आधारमा नागरिकता दिनु भन्ने आदेश जारी गरेको थियो । नेपालको संविधान २०७२ ले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेपनि ऐन नहुँदा त्यसको कार्यान्यन हुन सकेको थिएन ।


















