झापा । झापामा परेको चट्याङले दुई जना घाइते भएका छन् भने गाईको मृत्यु भएको छ। लगातारको हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण बुधबार साँझ दुइ छुट्टाछुट्टै घटनामा सो क्षति भएको हो।
बुधबारेस्थित बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गरिरहेका बेला चट्याङले लागेर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ। प्राप्त जानकारी अनुसार, चट्याङ लागेपछि उनका दुबै आँखा र दाहिने हातमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेका छन् भने अवस्था मध्यम रहेको जनाइएको छ।
त्यसैगरी, शिवसताक्षी नगरपालिका–७ टेक्रामा पनि चट्याङले एक गाईको ज्यान गएको छ। अन्दाजी १८स्३० बजेको समयमा डम्बर कुमारी भुजेलको गोठमा बाँधिएको गाईलाई चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो। त्यही चट्याङको असरले घरभित्र बसिरहेकी ४४ वर्षीया भुजेलको मुखमा सामान्य चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेकी उनी स्थानीय मेडिकलमा उपचाररत रहेको प्रहरीले जनाएको छ।


















