विराटनगर महानगरपालिका मेयर नागिस कोइराला अहिले इजरायलमा छन्। मरुभूमि तथा सुक्खा ठाउँमा गरिने खेती प्रणालीको बारेमा जानकारी लिन इजरायल पुगेका कोइराला इरान र इजरायल युद्धका कारण असहज अवस्थामा छन्।

विगत सात दिनदेखि इजरायल भ्रमणमा रहेका मेयर कोइराला विगत चार दिनदेखिको इजरायल र इरान बीचको युद्धको मारमा पर्दा बेलाबेला समस्या हुने गरेको बताउँछन्। इजराइलमा रहेका मेयर कोइराला भनछन , ‘म द्वन्दग्रस्त रेड जोनमा छैन, मिसाइलहरू आक्रमण भइराख्दा त्रास भने छ।’

नेपालको तर्फबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायल पुगेका थिए भने सोही कार्यक्रममा सहभागी हुन फिलिपिन्सका सांसद र केही जनप्रतिनिधिहरु पनि त्यहाँ पुगेका छन्। उनी बसेका ठाउँमा अहिले फिलिपिनीहरु रहेको बताए।

उनी अहिले इजराइलको राजधानीभन्दा ३० किलोमिटर टाढा सेफाइम भन्ने ठाउँमा रहेका छन्।

केही दिनयता इजरायल र इरानबीच आक्रमण र प्रत्याक्रमण चल्न थालेपछि उनीसहित त्यहाँ पुगेका विभिन्न देशका जनप्रतिनिधिहरु मिसाइल आक्रमण भएको बेलामा बंकरमुनि बस्ने गरेको मेयर कोइरालाले बताए। उनी रहेको स्थानमा अहिले मेयर कोइरालासहित १७ जना जनप्रतिनिधिहरु छन्।

मेयर कोइरालाका अनुसार, इरानबाट मिसाइल आक्रमण भए लगत्तै साइरन बज्छ, साइरन बजेपछि दुई तीन मिनेट समय हुन्छ, त्यो समयमा बंकरभित्र छिरिसक्नुपर्छ। धेरै पटक बंकरमा छिरेको सुनाए।

यसरी बेलाबेला साइरन बज्ने र साइरन बजेको बेला आफूहरु बंकरभित्र छिर्ने गरेको मेयर कोइरालाले बताए।

मेयर कोइराला जुन २० तारिखमा नेपाल फर्कने टिकट रहेको छ। उनी नेपाल फर्किन अरु पाँच दिन बाँकी रहेको छ। यो बीचमा द्वन्द्वको अवस्था कस्तो हुन्छ त्यसमा भर पर्ने उनको भनाइ छ। अहिले इजरायलले इरानसँगको तनावका कारण सबै विमानस्थलहरू बन्द गरेको छ।

आफूलाई भेट्न इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित दुई पटक आइसकेको जानकारी दिँदै कोइरालाले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको बताए।

तपाईको प्रतिक्रिया