ठूलो परिमाणमा लागुऔषध गाँजा लोड गरिएको कार छाडेर फरार भएका १ जनालाई प्रहरीले सुनसरीको दुहबीबाट पक्राउ गरेको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–४ घर भएका २८ वर्षीय चीन भनिने नसरुदिन मियाँ पक्राउ परेका हुन् । उनलाई दुहबी नगरपालिका–४ मालहट्टी आसपासबाट बुधबार पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।दुहबीबाट बूढीगंगातर्फ आउँदै गरेको बा ७ च ९२६३ नम्बरको मारुती सुजुकी कारलाई प्रहरीले गत वैशाख ६ गते नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर प्रहरीले कार खानतलासी गर्दा १ सय १६ किलोग्राम गाँजा बरामद भएको थियो ।
प्रहरीका अनुसार गाँजा लोड गरिएको कार दुहबी–४ मालहट्टीमा छाडेर चालक मियाँ फरार भएका थिए । सुनसरी अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनको खोजी गरिरहेको थियो ।विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको एसपी तिम्सिनाले बताए ।
उनका अनुसार मियाँविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।


















