विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की नाबालिकाको हत्यामा आफ्नै काकाको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो ।
अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव भेटिएपछि हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान सुरु गर्यो । अनुसन्धानका क्रममा नाबालिकाका कान्छा काका अनिष सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछका क्रममा उनले घटना स्वीकार गरेनन । प्रमाण संकलन गर्दै थप अनुसन्धान अघि बढाएको प्रहरीले नाबालिकाको हत्यामा आफ्नै काका अनिष संलग्न रहेको निष्कर्ष निकालेको हो ।


















