विराटनगर । मामाघरबाट आफ्नो घरतिर फर्किएका भोजपुर घर भएका १ जना युवा धनकुटामा मृत फेला परेका छन् ।
भोजपुरको अरुण गाउँपालिका–७ का २७ वर्षीय सागर थापा मृत फेला परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार सागर झापास्थित मावली घरबाट गत सोमबार भोजपुर आफ्नो घर फर्किएको पाइएको छ ।
घर नपुगेपछि परिवारका सदस्य र आफन्तले खोजी थालेका थिए । खोजी गर्ने क्रममा धनकुटाको पाख्रीबास नगरपालिका–५ रुपाटारस्थित खेतमा घोप्टो परेको अवस्थामा मंगलबार साँझ शव फेला परेको डीएसपी खनालले बताए ।सागरको मृत्युको कारण यकिन भइसकेको छैन । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















