बिराटचौक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरको ठक्करबाट ६ जना घाइते भएका छन् ।
‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई गछियातर्फ नै जाँदै गरेको प्रदेश १–०२–००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सफारीमा सवार रहेका सुन्दरहरैँचा–५ की ५३ वर्षीया अमेरिकादेवी यादव, ३१ वर्षीया ज्वाति यादव, २१ वर्षीया रिंकु यादव, ११ वर्षीया देव्यानी यादव, ९ वर्षीय देवराज यादव र ५ वर्षीया दीपिका यादव घाइते भएका हुन् । घाइते हुनेहरु एउटै परिवारका रहेको प्रहरीको भनाइ छ ।
सामान्य अवस्थाका उनीहरुको इटहरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । सफारी चालक इटहरी–३ का ४७ वर्षीय सुनकुमार लिम्बू र टिपर चालक सुन्दरहरैँचा–६ का ३५ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।