मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला परेकी युवतीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शनिबार अपरान्ह ४ बजेतिर सडेर दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । यद्यपि, मृतकको पहिचान खुलेको छैन ।
अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान तीव्र पारिएको छ ।
‘पहिचानका लागि धेरै प्रयासहरु भइरहेका छन् । विभिन्न कोणबाट अनुसन्धान जारी राखिएको छ । तर, पहिचान भइसकेको छैन । मृत्युको कारण पनि यकिन गर्न गाह्रो परिरहेको छ,’ चुँडालले भनिन् । उनका अनुसार किरा परेर कुहिएको र अनुहार प्रष्टसँग चिन्न सक्ने अवस्था नभएकाले शवको पहिचान गर्न मुस्किल परिरहेको हो ।शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ ।
प्रहरीले लगाएका कपडाको आधारमा शव महिलाको हो भनेर यकिन गरेको हो । मृतक २० वर्षमुनिको हुनसक्ने प्रहरीले अनुमान छ । घटनास्थल र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिने प्रहरीको भनाइ छ । ‘शरीरको माथिल्लो भागको भित्री कपडा मात्रै लगाएको अवस्थामा शव फेला परेको थियो । कम्मरदेखि मुनिको भागमा कपडा नै थिएनन् ।
नग्न अवस्थामा शव भेटिएको हो । घटनास्थलमा मृतकले लगाएका कपडा र चप्पलहरु फेला परेका छन्,’ प्रहरी स्रोतले भन्यो ।घटनास्थलमा मृतकले लगायतका पाइन्टलगायतका कपडा, चिम्टी र चप्पल खोलेर छेउमा राखेको अवस्थामा फेला परेको थियो । कम्मरदेखि मुनिको बाहिरी तथा भित्री वस्त्रसमेत खोलिएको अवस्थामा थियो ।प्रहरी स्रोतका अनुसार कपडा र चप्पल हेर्दा मृतक धेरै टाढाको जस्तो लाग्दैन । तर, अहिलेसम्म महिला हराएको भनेर कोही पनि प्रहरीको सम्पर्कमा नआएको डीएसपी चुँडालले बताइन् । Gramthan Update


















