रौतहट : रौतहटको कटहरिया नगरपालिका–५ का करिब ३० वर्षीय पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या पछाडि स्थानीय प्रशासन, राजनीतिक दवाव र पत्रकारको सुरक्षा व्यवस्था सम्बन्धी गम्भीर प्रश्न उठेको छ।
शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा भेटिएका प्रजापतिको परिवारले तत्काल पासो काटेर अस्पताल पुर्याएको थियो। तर अस्पतालले उनलाई मृत घोषित गर्यो।
गरुडा म्युजिकल एफएममा कार्यरत पत्रकार प्रजापति समाचार लेखन र वाचनमा सक्रिय थिए। स्थानीय खानेपानी समस्याबारे समाचार प्रकाशित गरेपछि कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट उनी गम्भीर धाकधम्कीमा परेका थिए। समाचार लेखेको केही दिनपछि मेयरले उनलाई फोन तथा अन्य माध्यमबाट गालीगलौज र धम्की दिएको भन्ने स्थानीयको आरोप छ।
rastriya mavi
यसै विषयमा प्रेस चौतारी नेपाल, रौतहट शाखाले जेष्ठ २९ गते नै विज्ञप्ति जारी गर्दै मेयर जयसवालको कारबाहीको माग गरेको थियो। विज्ञप्तिमा चौतारीका अध्यक्ष अशोक पहाडीले धम्कीलाई प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै प्रशासनसँग निष्पक्ष छानबिनको माग गरेका थिए।


















