सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा जडान गरिएको ट्रान्सर्फमर चोरी भएको छ । खेतमा सिचाईंका लागि जडान गरिएको ट्रान्सफर्मर गएराति चोरी भएको हो ।
स्थानीयका अनुसार मध्यहर्षाहीमा डिप बोरिङका लागि ट्रान्सफर्मर जडान गरिएको थियो । किसानले लोभोल्टेजमा समस्या भएको बताएपछि प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिएको थियो ।
यो घटना केही दिनअघि देवानगञ्ज क्षेत्रमा अवस्थित बिजुलीको पोलबाट ट्रान्सफर चोरी भएको घटनासँग मेल खाएको प्राधिकरणको देवागञ्ज शाखाले जनाएको छ । पहिले चोरीमा संलग्न भएकाहरूले नै फेरि चोरी गरेको हुनसक्ने आशंका गरिएको छ ।
वैशाखयता चोरीका घटना बढेका छन् । हालसम्म मोरङ सुन्दरहरैंचा नगरपालिका–२, जोगीहारे (५० केभीए), ग्रामथान गाउँपालिका–५ झपटाटोल (५० केभीए), रङ्गेली नगरपालिका–७, (५० केभीए), रङ्गेली नगरपालिका–१, जिरायत टोल (१०० केभीए), झापाको शिवसताक्षी नपा–१, धरमपुर खानेपानी (१०० केभीए), सुनसरीको बराहक्षेत्र नगरपालिका–९, राजाबास (१०० केभीए) र देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा ट्रान्सफर्मर चोरी भएको छ । देवागञ्जमा तेस्रोपटक चोरी भएको हो । ती सबै घटनामा तामाको तार झिकेर लगेको पाइएको छ ।


















