काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ गठबन्धनमा सहभागी दलहरूबिच सहमति जुटिसक्दा पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको रहस्यमय ‘आलटाल’का कारण पुनर्गठन प्रक्रिया अघि बढ्न सकेको छैन ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मन्त्रीहरूलाई फेर्ने सहमतिअनुसार ओलीले पुनर्गठनको पहल थालेका हुन् । गत असार महिनादेखि नै उनले देउवासँग पटक–पटक छलफल गरे पनि देउवाले अन्तिम निर्णय दिन आलटाल गर्दा प्रक्रिया लम्बिएको छ ।

सरकारमा कांग्रेस, एमाले, जसपाका अशोक राई समूह, लोसपाका महन्थ ठाकुर समूह र जनमत पार्टी सहभागी छन् । जनमत सङ्घीय सरकारमा सहभागी नभए पनि प्रदेश सरकारमा मुख्यमन्त्री पाएको छ । उता, नागरिक उन्मुक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई समर्थन फिर्ता लिइसकेका छन् ।

लोसपाले श्रममन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ललाई पठाउने तयारी गरेको छ भने जसपाले पनि आफ्ना दुई मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्ति गर्न दबाब दिइरहेको छ ।

तपाईको प्रतिक्रिया