सुनसरी प्रहरीले विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिएर रकम असुली गर्ने १ जनालाई पक्राउ गरेको छ ।‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने इनरुवा नगरपालिका–९ का ३० वर्षीय पवन मेहतालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार मेहतालाई भोक्राहा–नरसिंह गाउँपालिका–५ बाट बिहीबार साँझ पक्राउ गरिएको हो ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी पोखरी चोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको डीएसपी खतिवडाले बताए । उनका अनुसार मेहताले आफूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी बताउँदै विगत केही दिनदेखि सर्वसाधारणलाई धम्की दिएर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उनलाई को १५ प ८८७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी खतिवडाले दिए ।























