नोबेल हस्पिटलमा उपचारका क्रममा रङ्गेली नगरपालिका वार्ड नं. ५ निवासी समाजसेवी धर्मेन मण्डलको ज्यान गएको छ। आफन्तहरूका अनुसार, अस्पतालको गम्भीर लापरवाहीका कारण ४५ वर्षीय मण्डलको मृत्यु भएको हो।

धर्मेन मण्डलले शुक्रबार जिब्रोको सामान्य अपरेसन गराएका थिए। प्रारम्भमा अवस्था सामान्य देखिए पनि शनिबार राति अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य अवस्था एक्कासी गम्भीर भयो। तर, अस्पताल प्रशासनले समयमा आवश्यक कदम नचालेको भन्दै आफन्तहरूले आक्रोश व्यक्त गरेका छन्।

“रगत धेरै बगिरहँदा पनि चिकित्सक र नर्सहरूले बेवास्ता गरे,” एक आफन्तले बताए, “हामीले गुहार्दा पनि कुनै तत्काल उपचार गरिएन। यसै कारण उहाँको मृत्यु भयो।”

धर्मेन मण्डल रङ्गेली वार्ड नं. ५ मा समाजसेवा क्षेत्रमा सक्रिय व्यक्ति थिए। उनी निरञ्जन मण्डलका कान्छा भाइ समेत हुन्। समुदायमा सहयोगी, मिलनसार र सक्रिय व्यक्तित्वका रूपमा चिनिने धर्मेनको असमायिक निधनले स्थानीय स्तरमा शोकको लहर फैलिएको छ।

यो घटनासँगै, नोबेल हस्पिटलमा यस्तै प्रकृतिका लापरवाहीका घटना दोहोरिँदै आएको जनगुनासो फेरि सतहमा आएको छ। केही महिनाअघि सोही अस्पतालमा रङ्गेली वार्ड नं. ६ निवासी भागवत चौधरीको पनि यस्तै अवस्थामा मृत्यु भएको थियो।

आफन्त र स्थानीयबासीहरूले दोषी चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध छानबिन गरी कडा कारबाहीको माग गरेका छन्। अहिलेको अवस्थाले यो अस्पताललाई “मृत्युकै केन्द्र” बन्न थालेको गम्भीर चिन्ता व्यक्त गरिएको छ।

नोबेल हस्पिटल प्रशासनले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

तपाईको प्रतिक्रिया