काठमाडौँ : भारतको तेलंगानामा एक ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरेको आपराधिक घटना सार्वजनिक भएको छ। रंगारेड्डी जिल्लाको यो घटनामा कक्षा ८ मा अध्ययनरत ती बालिकाको विवाह गएको मे २८ मा गरिएको थियो।

शिक्षिकालाई विवाहको जानकारी गराएपछि बालिकालाई ‘सखी केन्द्र’मा राखेर सुरक्षा र परामर्श प्रदान गरिएको छ। शिक्षिकाले तुरुन्तै तहसीलदार र प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीका अनुसार बालिका आफ्नी आमा र भाइसँग भाडाको घरमा बस्दै आएकी थिइन्। बालिकाकी आमाले घरधनीलाई छोरीको विवाह गराउने योजना रहेको बताएकी थिइन्। त्यसपछि एक मध्यस्थकर्तामार्फत बालिकाको विवाह कान्दीवाडी निवासी श्रीनिवास गौडसँग गरिएको थियो।

बालविवाहमा संलग्न श्रीनिवास गौड, उनकी कानुनी पत्नी, बालिकाकी आमा, मध्यस्थकर्ता र विवाह गराउने पुजारी विरुद्ध बालविवाह निवारण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको भनाइमा, बालिका र गौड विगत दुई महिनादेखि सँगै बस्दै आएका छन्। यदि गौडले बालिकासँग शारीरिक सम्बन्ध राखेको प्रमाणित भएमा, उनीविरुद्ध यौन अपराधबाट बालबालिकाको संरक्षण (पोस्को) ऐन अन्तर्गत थप कडा मुद्दा दर्ता गरिनेछ।

तपाईको प्रतिक्रिया