इटहरी : इटहरी उपमहानगरपालिका–१० स्थित ओसियन पार्क नजिकको सडकमा स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।वर्षौंदेखि मर्मत नहुँदा हिलाम्य बनेको सडकको दयनीय अवस्थाप्रति स्थानीय सरकारको ध्यानाकर्षण गराउन धान रोपिएको हो।
स्थानीयका अनुसार केही समयदेखिको अविरल वर्षापछि बाटो हिँड्नै नसकिने गरी हिलाम्य बनेको छ।
मोटरसाइकल र साना सवारी साधन तथा पैदल हिँड्नसमेत मुस्किल हुने स्थितिमा सडक पुगेको भन्दै उनीहरूले बाटोमै धान रोपेका हुन्। धान रोपेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चासोको विषय बनेको छ।
सडक मर्मतको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमार्फत मिस गिटीको माग गरेका थिए।वडा कार्यालयले ‘स्टिमेट’ तयार पारी इटहरीका मेयर हेमकर्ण पौडेलसमक्ष तोक आदेश अनुरोध गरे पनि तत्कालीन रूपमा सुनुवाइ नभएको स्थानीय बताउँछन्।
एक स्थानीयका अनुसार धान रोपिएको विषय थाहा पाएपछि मेयर पौडेलले असन्तुष्टि जनाएका थिए। तर पछि स्थानीयवासीसँगको छलफलपछि पाँच टिपर मिस गिटी दिने पौडेलले आश्वासन दिएका छन्।स्थानीयवासीका अनुसार उक्त सडक बर्खाको समयमा पानी पर्दासाथ हिलोको पोखरीमा परिणत हुन्छ।मोटरसाइकलको टायर नै फस्ने, मान्छे लडेपनि अचम्म मान्ने अवस्था छैन,’ एक स्थानीयले भने, ‘सडक बन्ने सुरसार नभएपछि धान रोपेर सन्देश दिन बाध्य भयौं।’


















