विराटनगर — कोशी प्रदेश कराते महासंघको प्रथम प्रदेश अधिवेशनले मोरङ जिल्लाकाे बुढीगंगा गाउँपालिका टंकीसिन्वारीकाे प्रभाकर राना मगर (रिक्की)लाई अध्यक्षमा निर्वाचित गरेको छ। बुढीगंगा गाउँपालिकास्थित जेसीज भवनमा शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत समर्थनका साथ नयाँ नेतृत्व चयन गरेको हो।

अध्यक्ष रणासँगै इलामका कमी राई र उदयपुरका रविन राई उपाध्यक्षमा निर्वाचित भए। त्यस्तै, खोटाङका मिलन कसजु सचिव, सुनसरीका अनिश राजधामी सहसचिव र झापाकी रेनुका राई कोषाध्यक्ष बने। महासंघको सदस्यमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दिपक मगर, ओखलढुङ्गाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित भए। निर्वाचन अधिकृत कालिदास भट्टराईका अनुसार अधिवेशनमा निष्पक्ष र सौहार्दपूर्ण प्रतिस्पर्धा भएको थियो।

कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्दिया कार्की, बोर्ड सदस्य प्रदिप भगत थारू, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलन राज प्रसाईंलगायत प्रदेशभरिका कराते खेलकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। उपस्थित वक्ताहरूले कराते खेलको विकास र प्रदेशस्तरीय संरचनालाई सुदृढ बनाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरे।

नव–निर्वाचित अध्यक्ष रानाले प्रदेशभरि कराते खेललाई अझ व्यवस्थित, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर दिलाउने, प्रशिक्षण सुविधा विस्तार गर्ने र ग्रामीण क्षेत्रमा करातेको पहुँच बढाउने योजना प्रस्तुत गरे।

यो अधिवेशनलाई कोशी प्रदेशमा कराते खेलको संस्थागत विकासतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। खेलप्रेमीहरूले यसलाई भविष्यमा उत्कृष्ट खेलाडी उत्पादनको आधारशिला हुने अपेक्षा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया