मोरङ — मोरङको बुढीगंगा गाउँपालिकाले नियुक्त गरेका सात नगर प्रहरी सशस्त्र प्रहरी बलको ढाँचामा दक्ष बनेका छन्।
सशस्त्र प्रहरी बलको ३ नम्बर गण, कङ्कालनी मोरङले १५ दिने विशेष तालिममार्फत उनीहरूलाई अग्नि नियन्त्रण, भिड व्यवस्थापन, जनप्रतिनिधि सुरक्षा, स्वागत सत्कार लगायतका सीप सिकाएको हो।
सामान्यतया तीन महिनामा सम्पन्न हुने तालिम छोटो अवधिमा पूरा गरिएको सशस्त्र प्रहरीका नायव महानिरीक्षक कुमार न्यौपानेले बताए।
गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरेका अनुसार तालिममा कर्तव्य, अधिकार, कानुनी साक्षरता र सुरक्षा विषय पनि समेटिएका थिए। “यो तालिमपछि नगर प्रहरी स्थानीय जनता र स्थानीय सरकारबीचको सेतु बन्नेछन्,” उनले भने।
गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगरले बजार व्यवस्थापन, सडक सुरक्षा, स्थानीय प्रशासनसँग समन्वय र रोजगारी सिर्जना उद्देश्यले नगर प्रहरी नियुक्त गरिएको जानकारी दिए। हाल नगर प्रहरीमा स्नातक उत्तीर्ण कोपिल ऋषिदेवसहित दुई महिला र पूर्व प्रहरी समेत कार्यरत छन्।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि विराटनगरका मेयर नागेश कोइरालाले बाढी–डुबान जस्ता विपदमा नगर प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि नगर प्रहरीलाई स्थानीय तहको अग्रपङ्तिमा काम गर्नुपर्नेमा जोड दिए।
सशस्त्र प्रहरी बलले हालसम्म कोशी प्रदेशमा २८ हजार विपद सूचक र ९५ जना स्थानीय विपद स्वयम्सेवक तयार गरिसकेको नायव महानिरीक्षक न्यौपानेले जानकारी दिए।


















