काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्र फेरि आन्तरिक असमझदारी चुलिएको छ । दुई महिनाअघि औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर गतिविधि चलाउन थालेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता विद्याबीच वारपारको स्थिति आउन लागेको हो ।
तर पार्टी राजनीतिमा सक्रियता बढाएकी भण्डारीलाई साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले राजनीतिक सक्रियतामा रोक लगाउने निर्णयसहित पार्टी सदस्यतासमेत स्थगन गरेको थियो । त्यसपश्चात् भण्डारीले थप सक्रिय भएर एमालेभित्र समानान्तर गतिविधि बढाएकी छन् । २०८१ वैशाखमै पार्टी सदस्यता नवीकरण गरेको दाबी गर्ने भण्डारीले २०८२ असार १४ गतेबाट औपचारिक रूपमा पार्टीमा फर्किएको घोषणा गरेकी थिइन् ।
आगामी पार्टी अध्यक्षको तयारीस्वरूप पार्टीमा फर्किएकी भण्डारीको सो घोषणालाई अध्यक्ष ओलीले ठाडै अस्वीकार गर्दै पार्टीको बैठकबाटै सदस्यता रोक्ने निर्णय गराए । त्यसयता एमालेमा ओली र विद्याबीच निकै ठुलो दरार उत्पन्न भएको छ । पार्टीले सदस्यता स्थगन गरे पनि एमालेका नेता कार्यकर्तासँगको निरन्तर भेटघाट र राजनीतिप्रतिको चासोले उनको निजी निवास भंगालमा दैनिकजसो भिडभाड भइरहन्छ ।
Enlighten
राजनीतिक गतिविधिलाई थप क्रियाशील बनाउने उद्देश्यका साथ भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय नै खोलिसकेको उनीनिकट नेताहरूले बताएका छन् । तर, भण्डारीलाई रोक्न एमालेले सदस्यताबाटै बन्देज गराएर राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावनाविपरीत हुने निष्कर्ष निकालेको छ ।


















