विराटनगर — विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन्। ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा प्रस्तुत प्रभावशाली मन्तव्यका आधारमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि हात पारेका हुन्।
प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो स्थानमा रहँदा प्रफुल मेहता तेस्रो भए। सोही क्रममा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप्त गरिन्।
निर्णायक समिति — कवि एवं पत्रकार मीनकुमार नवोदित र प्राध्यापक नरेश पौडेल — ले सम्बोधन शैली, विषयवस्तुको ज्ञान, प्रस्तुति, शारीरिक हाउभाउ, भाषाशैली र मौलिकतालाई प्रमुख आधार मानी निर्णय गरेको जानकारी प्रमुख निर्णायक नवोदितले दिए। उनका अनुसार, प्रतिस्पर्धीहरूले विषयसँग गहिरो सम्बद्धता देखाए पनि पौडेलको प्रस्तुति सशक्त, सन्तुलित र प्रभावकारी थियो।
पुरस्कार वितरण समारोहमा कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्राचार्य लक्ष्मण ढकाल, सञ्चालक प्रा.डा. पिके झा, भेषराज पोखरेल, पेशल पोखरेल, प्रदीप भगत तथा निर्णायक नवोदितलगायतको उपस्थिति रहेको थियो।
समारोहमा विजेता र सहभागीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो।
प्राचार्य ढकालले विद्यार्थीहरूको लुकेको प्रतिभा पहिचान र विकास गर्न यस प्रकारका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। “मेरिल्याण्ड कलेज अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकतामा राख्छ,” उनले भने, “युवाहरूको व्यक्तित्व विकास र भविष्यको तयारीमा यस्तो अवसर अपरिहार्य हुन्छ।”
कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कलेजले आगामी दिनमा पनि यस किसिमका शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


















