मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारमा राखेर लागुऔषध ल्याउनेहरु पक्राउ परेका हुन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङलाई पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले उनीहरुलाई आइतबार राति ११ बजेतिर उर्लाबारी–९ आमबारीबाट पक्राउ गरेको हो ।
प्रहरीले दुर्गापुरी–उर्लाबारी सडक खण्डमा आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको बा ३ च ७९८१ नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर खानतलासी गर्दा कारबाट लागुऔषध बरामद भएको डीएसपी चुँडालले बताइन् ।

तपाईको प्रतिक्रिया