चार वर्षअघि परिवारको भविष्य सँचाउने सपना बोकेर मलेसिया पुगेका सप्तरीको रुपनी गाउँपालिका २ हरिरावा टोलका ३२ वर्षिय ३२ वर्षीय दीपककुमार रामको कामकै सिलसिलामा मृत्यु भएको छ ।

आइतबार राति अचानक बिरामी परेपछि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

दीपक मलेसियास्थित एक प्लास्टिक फ्याक्ट्रीमा मजदुरी गर्दै आएका थिए ।

सानै उमेरमै आमाबुबा गुमाएका उनलाई ऋणको बोझ, घर खर्च र भविष्यको चिन्ताले विदेश धकेलेको थियो ।

साहु–महाजनसँग ऋण लिएर विदेशिएका उनको सपना स्पष्ट थियो— ऋण तिर्ने, दुई नाबालक सन्तानलाई पढाउने र परिवारलाई सुख–सुविधा दिने । तर त्यो सपना अधुरै टुट्यो ।

३२ वर्षमै श्रीमान् गुमाएकी २६ वर्षीया पत्नी रेणु राम बारम्बार बेहोस भइरहेकी छिन् । मृतक दीपककै भरमा गुजारा गर्दै आएको परिवार एकैछिनमा अन्धकारमा धकेलिएको छ । बाबुको मुख ताकिरहेका दुई सन्तान अब अनाथ बनेका छन् ।

वडाध्यक्ष सरोजकुमार यादवले दीपकले देशमै केही गर्न पाएको भए विदेश जानु नपर्ने बताउँदै भने, “कम्तीमा उनको शव गाउँ ल्याएर परिवारलाई अन्तिम दर्शन गर्न पाउनु हाम्रो चाहना हो।”

गाउँपालिका कार्यालयले यसबारे प्रदेश र सङ्घीय सरकारसँग पहल थालेको जानकारी पनि उनले दिए ।

सुरक्षित आप्रवासन (सामी) परियोजनाको तथ्याङ्कअनुसार सप्तरीबाट मात्रै गत आर्थिक वर्षमा २९ युवाले रोजगारीका क्रममा बिभिन्न देशमा ज्यान गुमाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया