विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित पिचरामा किरियापुत्री बसिरहेका शोकसन्तप्त परिवारमाथि मध्यरातमा हमला भएको छ ।
सोमबार राति करिब ११ बजेपछि मृतकको घरमा किरियापुत्री बसिरहेका अवस्थामा स्थानीय प्रमोद सहनी र सुनिल सहनी मदिरा सेवन गरेका अवस्थामा घरभित्र पसेर परिवारका सदस्यमाथि आक्रमण गरेको पिडितहरुले बताएका छन् ।
आक्रमणबाट मृतकका श्रीमान् हरिनारायण कामत र उनका छोराहरु किरण कामत, सन्तोष कामत , छोरी काली कामतलाई कुटपिट गरी घाइते बनाएका थिए । माइला छोरा किरण कामत विगत सातदिनदेखी किरियामा थिए । मध्यरातमा भएको घटनापछि पीडित परिवारले तत्काल घर नजिकै रहेको बखरी प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनासाथ प्रहरी चौकी बखरीबाट वरिष्ठ प्रहरी नायब निरीक्षकको टोली घटनास्थल पुग्यो ।
तर, प्रहरी आइपुग्नुअघि नै आक्रमणकारीद्वय प्रमोद र सुनिल फरार भइसकेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा थप टोली आयो र राति १ बजेतिर सुनिलको घरमा छापा मा¥यो, तर उनी त्यहाँ फेला परेनन् । मंगलबार बिहान पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, मोरङमा दुवै आक्रमणकारीविरुद्ध अर्भद्र व्यावहारको मुद्दामा किटानी जाहेरी दिएका छन् । उजुरी दर्ता भएलगत्तै मोरङ प्रहरीले तीव्र सक्रियता देखाउँदै दुवै जनालाई नियन्त्रणमा लिएको छ ।


















