मोरङको बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान नहरले बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बिहान करिब ८:३० बजे सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा अन्दाजी ३० देखि ३२ वर्षकी महिलाको शव भेटिएको हो। तर मृतकको पहिचान भने खुलेको छैन।
उनका अनुसार मृतक स्थानीय नभई अन्यत्रैबाट नहरले बगाएर ल्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटना थाहा पाएलगत्तै प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो। टोलीले पानीबाट शव बाहिर निकाली हेर्दा महिलाको मृत्यु भइसकेको अवस्थामा भेटिएको थियो।
मृतकको पहिचानका लागि हुलिया परिपत्र गरिसकिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको प्रहरीको भनाइ छ।
महिलाको मृत्यु दुर्घटनामा परेर भएको हो वा अन्य कुनै कारणले भन्ने विषय थप अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ


















