काठमाडौं / सरकारले नेपालमा दर्ता (सूचीकरण) नगरेका फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायतका सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले एक साताभित्र सूचीकरण नगरेका सञ्जाललाई बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ल्याउने जनाएको हो।
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन्।
सामाजिक सञ्जाल दुरुपयोग रोक्न भन्दै सरकारले २०८० सालमै निर्देशिका जारी गरी तीन महिनाभित्र दर्ता अनिवार्य गरेको थियो। तर समयसीमाभित्र प्रमुख प्लेटफर्महरूले निवेदन नदिएपछि सरकारले प्राधिकरणमार्फत बन्द गर्ने आदेश दिएको हो।























