काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला एक साता लामो चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ विश्वविद्यालयको औपचारिक निमन्त्रणामा उनी भोलि शुक्रबार चीन प्रस्थान गर्ने कार्यतालिका रहेको छ । विश्वविद्यालयस्तरीय कार्यक्रमका लागि भ्रमण तय भएको सचिवालयका एक सदस्यले बताए । सचिवालय सदस्यका अनुसार भदौ १९ गते (सेप्टेम्बर ५) देखि २५ गतेसम्म चीनमा रहने कार्यक्रम रहेको छ । भ्रमण अवधिमा शैक्षिक कार्यक्रमसँगै राजनीतिक भेटवार्ता पनि तय गर्ने तयारी गरिएको जनाइएको छ ।
कांग्रेस नेता कोइरालाको यो भ्रमणलाई शिक्षा तथा कूटनीतिक सम्बन्ध विस्तारसँग पनि जोडेर हेरिएको छ । चिनियाँ विश्वविद्यालयको निमन्त्रणामा जान लागे पनि उनको भेटवार्ता केही चिनियाँ राजनीतिक प्रतिनिधिहरूसँग पनि हुनेछ ।
नेपाल–चीन सम्बन्धमा पछिल्ला केही महिनायता बढ्दो चासो र सक्रियतालाई दृष्टिगत गर्दै डा. कोइरालाको भ्रमणलाई राजनीतिक हिसाबले पनि अर्थपूर्ण मानिएको छ । पार्टीभित्र प्रभावशाली मानिने कोइरालाको यस भ्रमण कांग्रेस र चीनबीचको सम्बन्ध थप विस्तारका लागि महत्वपूर्ण हुने कांग्रेस एक केन्द्रीय सदस्यले बताए ।























