कञ्चनपुर। हिन्दू नेपालीहरूको महान् चाड दशैं आउन एक साता मात्रै बाँकी छ। यतिबेला दशैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन्। सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ।
विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो। दैनिक हजारौंको संख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ।
हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको संख्या बढी छ। चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन्।
परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका-२ का करन थापा मंगलबार गड्डाचौकी नाकामा भेटिए।
“साँझ-बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दशैं हुन्छ”, उनले भने, “पैसा भयो भने तिहार मनाउन आउँछु। यसपटक घरमा बसेर दशैं मनाउन पाइएन।” थापाले दशैंको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चलन प्रदेश जान लागेको बताए।


















