विराटनगर / विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा दुई समुदायबीच तनाव उत्पन्न भएको छ । विवाद उत्कर्षमा पुगेपछि यतिबेला जोगबनी बजारको अवस्था तनावग्रस्त छ ।
इस्लाम धर्मगुरु पैगम्बरबारे आपत्तिजनक टिप्पणीपछि उत्पन्न साम्प्रदायिक विवादले जोगबनी बजार पूर्ण रूपमा ठप्प भएको हो। स्रोतका अनुसार स्थानीय समुदायहरूबीच चर्किएको विवादपछि तनावग्रस्त बनेको जोगबनी बजारमा ठूलो संख्यामा भारतीय सुरक्षा बल परिचालन गरिएको छ । अवस्था जटिल बन्दै गएपछि नेपालतर्फको सीमामा अस्थायी रूपमा आवागमन रोकिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा बन्द गरिएको पुष्टि गरे । ‘नागरिक सुरक्षालाई ध्यानमा राख्दै नेपालतर्फबाट सीमा नाका बन्द गरिएको छ।’
दसैँको किनमेल गर्न भनेर जोगबनी पुगेका सयौं नेपाली उपभोक्ता सीमाबाटै फर्किन बाध्य भएका छन् । तनावका कारण बजार क्षेत्रमा नाराबाजीसमेत भइरहेको छ भने सुरक्षा सतर्कता उच्चस्तरमा राखिएको छ।
सामान्यतया चाडपर्वको समयमा सस्तो मूल्यमा सामान खरिद गर्न नेपालीहरूको ठूलो डी लाग्ने जोगबनी बजार यसपटक साम्प्रदायिक विवादको चपेटामा परेको छ। परिणामस्वरूप सीमावर्ती व्यापार तथा उपभोक्ता गतिविधि पूर्ण रूपमा प्रभावित भएको छ ।
नेपाली उपभोक्ताकै कारण जोगबनी बजार सधैंजसो गुल्जार हुने गरेको छ । नेपाली उपभोक्ताका कारण हरेक दिन करिब ६ करोडभन्दा बढीको कारोबार हुने गरेको छ ।


















