विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा सञ्चालित तासको खालमा प्रहरीले बिहीबार साँझ छापा हानेको छ ।
छापा हानेर प्रहरीले तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनाल नेतृत्वको टोलीले साँझ ६ः३० बजेतिर छापा हानेर तास खेलिरहेकाहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर–८ का ६० वर्षीय पदम भट्टराई, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ विराटनगर–८ मा बस्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ घर भइ विराटनगर–८ बस्ने ४३ वर्षीय शंकर थापा, विराटनगर–८ का ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय कपिल खड्का र मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई रहेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाको साथबाट ९७ हजार रूपैयाँभन्दा बढी नगर बरामद भएको छ । ९७ हजार १ सय ६५ रुपैयाँ र ५ बुङ तास बरामद गरिएको कटवालले बताए ।पक्राउ परेकाहरलाई जिल्ला प्रहरी कार्यालय मोरङ हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी एसपी कटवालले दिए ।


















